काभ्रेपलाञ्चोक । काठमाडौँ कलङ्कीमा केन्द्रिय कार्यालय रहि काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा खानेपानी ‚ स्वास्थ्य ‚ शिक्षा लगायतको कार्यमा विषेश योगदान पुर्याउँदै आएको उज्यालो नेपाल नामक संस्थाले “मुहान देखी मुखसम्म स्वच्छ खानेपानी” भन्ने अभियानमा जुटेको छ ।
खानेपानी उपभोक्ता समिति ‚ जनप्रतिनिधिहरू ‚ सरोकारवाला निकायहरू ‚ सञ्चारकर्मीहरू लगायतको उपस्थितिमा खानेपानी प्रणाली विकास‚ व्यवस्थापन ‚ सञ्चालन तथा पानीको गुणस्तर परिक्षण सम्बन्धी एक दिने क्षमता अभिवृद्धि एवं अन्तरक्रिया कार्यक्रम (आज) शुक्रवार पाँचखाल नगरपालिका वडा नं ५ स्थित धुलिखेल माउन्टेन रिसोर्टमा सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै पाँचखाल नगरपालिका प्रमुख (मेयर) महेश खरेलले पाँचखाललाई न्यूनतम शुल्कमा स्वच्छ खानेपानी खुवाउन सक्ने बताउनुभयो । विगत लामो समयदेखि सीमित स्रोत साधनको भरमा निकै मेहनत गरेर खानेपानी उपभोक्ता समितिले उपभोक्ताहरूलाई पानी खुवाउने कार्य हुँदै आएको बताउनु भयो । स्थानीय मूलहरू तथा डिप बोरिङको पानी दीर्घकालिक हुन नसक्ने भएकोले पाँचखाल नगरपालिकाको पहलमा पाँचखाल सुनकोसी बृहत खानेपानी आयोजना सञ्चालन भएको छ । जुन आयोजनाले सबै भेगलाई हाल समेट्न नसकेने सवै स्थानमा पानी पुर्याउने लक्ष लिएका छौं । उज्यालो नेपाल नामक संस्थाले पाँचखालमा खानेपानी ‚ स्वास्थ्य ‚ शिक्षाको क्षेत्रमा निकै अविस्मरणीय योगदान पुर्याएको छ । विभिन्न खानेपानी उपभोक्ता समितिसँग सहकार्य गर्दै पानीको व्यवस्था गरेकोमा हाल आएर पानी स्वच्छताको लागि खेलेको भूमिका स्वागत योग्य साथै पाँचखाल वासिको हितमा रहेको छ । मेयर खरेलले भन्नुभयो ।
कार्यक्रमको विषेश अतिथि पाँचखाल नगरपालिका उपमेयर सूर्य माया दनुवारले स्वच्छ खानेपानी उपलब्ध गराउने सरकारको दायित्व हो । त्यसैले स्वच्छ खानेपानी उपलब्ध गराउने कार्यमा हामी लागि रहेका छौँ । खानेपानीमा कहिलेकाँही समस्या आउन सक्छ ‚ जुन समयमा टेक्निकल ज्ञानको आधारमा परिक्षण गरेर वितरण गर्दा सहज हुने बताउनु भयो । खानेपानी झरेको ठाउको संरक्षण तथा व्यवस्थापन गर्ने ‚ नियमित सञ्चालन गर्ने कार्य उपभोक्ता समितिको हो । त्यसैले पाँचखालमा रहेका उपभोक्ता समितिहरू नगरमा दर्ता हुन जरुरी छ ‚ जसको कारण समस्यामा नगरले साथ दिन सक्ने बताउनु भयो । उपभोक्ता समितिले आय व्यय दुरुस्त पारदर्शिताको आधारमा राख्ने साथै आर्थिक कारोबार बैँक माफर्त गर्नको लागि सुझाव दिनुभयो ।
कार्यक्रममा उज्यालो नेपालका अध्यक्ष ‚ पाँचखाल नगरपालिका प्रवक्ता एवं पाँचखाल वडा नं ८ को वडाअध्यक्ष संजय तामाङले कार्यक्रमको वारेमा जानकारी गराउदै पानी परिक्षण गरेर मात्रै उपभोग गर्न अनुरोध गर्नुभयो । उहाँले थप्नुभयो विगतमा पानी परिक्षणको लागि प्रदेश ‚ संघमा पठाउन बाध्य थियौं अवका दिनमा पानीको गुणस्तर उज्यालो नेपाल नामक संस्थाले गर्ने साथै पानी निर्मलिकरणको लागि सघाउने बताउनु भयो ।
कार्यक्रममा पाँचखाल नगर वातावरण शाखा प्रमुख गणेश खरेलले पाँचखालमा पानीको अभाव रहंदा व्यवस्थापन गर्ने कार्य गर्दै आएको उज्यालो नेपाल नामक संस्थाले पानी परिक्षण साथै निर्मलिकरण गर्ने कार्य गर्ने तयारी भएकोले पाँचखालवासिले अव ढुक्कका साथ स्वच्छ खानेपानी खानपाउने अवसर पाएको बताउनु भयो ।
समाजसेवी सुनिल लुईटेल र करुणा चौलागाई द्वारा संञ्चालित उक्त कार्यक्रममा उज्यालो नेपालको कार्यक्रम संयोजक सुनिता योञ्जनले स्वागत मन्तव्य राख्नुभएको थियो । स्वच्छ खानेपानीको लागि अपनाउनु पर्ने बिधिको वारेमा अनुराधा ज्ञवाली‚ अम्बिका खनाल लगाएतले आ—आफ्नो प्रस्तुती माफर्त प्रस्ट्याउनु भएको थियो ।
Nawasanket मा प्रकाशित समाचार
https://www.nawasanket.com/bishesh-samachar/2025/08/01/50896/